काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति नरहेको बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजन गरी उनले राजनीतिक गर्न पाउनु आफ्नो संवैधानिक अधिकार भएको जिकिर गरिन् ।
‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्तिमा म छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकारमात्र होइन, बरु राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ । आफ्नो बाँकी जीवन आफ्नो पार्टीको राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा म पुगेको हुँ ।’
पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको दोहोर्याइन् । आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । उनले आफ्नो सदस्यता यत्तिकै खारेज नहुने प्रष्ट पारिन् ।
उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्छ भन्ने मलाई लाग्दैन,’ भण्डारीले भनिन् ।
उनले आफू एमालेमै रहेको र सदस्यता यथावत रहेको दाबी गरिन् ।


प्रतिक्रिया