कुलिङ अफ पिरियडबारे संसदीय छानबिन समितिको म्याद सात दिन थप

कुलिङ अफ पिरियडबारे संसदीय छानबिन समितिको म्याद सात दिन थप



काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको छलछामका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद सात दिन थप भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिको म्याद थपसम्बन्धी सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको प्रस्ताव सभाले स्वीकृत गरेको हो । गएको असार २३ गते बसेको प्रतिनिधिसभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ बारे भएको छेडखानीको अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गरेको थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा सर्वसम्मतिले राखेको ‘कुलिङ अफ पिरियड’ को व्यवस्था निष्प्रभावी बनाउने प्रावधान कसले, किन र कसरी राख्यो भन्ने विषयमा विशेष समितिले छानबिन गरिरहेको छ ।

जीवन परियार सभापति रहेको सात सदस्यीय समितिले काम गरिरहेको छ । समितिमा नेपाली नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई/दुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना रहेका छन् ।