काठमाडौं । अन्ततः बागमति प्रदेश कांग्रेसको संसदीय दलका नेता परिवर्तन हुने भएको छ । कांग्रेस संस्थापन पक्षका संसदीय दलका नेता बहादुरसिंह लामालाई पार्टी सभापति शेरबहादुर देउवा र प्रवक्ता डा. प्रकाशशरण महतले काँध थाप्न नसक्ने स्थिति सिर्जना भएपछि संसदीय दलका नेता परिवर्तन हुन लागेको हो ।
दलका नेता लामाविरुद्ध सांसदहरुको असन्तुष्टि सुनेर हैरान भएका पार्टी सभापति देउवाले काँध फेर्न संकेत गरेका थिए । त्यसभन्दा अघि बहादुरसिंहलाई सभापति देउवाले राजीनामा दिन भनेका थिए । तर उनले राजीनामा नदिने र संसदीय दलमा पराजित गर्न चुनौति दिएका थिए ।
यो चुनौति आएपछि आज शुक्रबार कांग्रेस संसदीय दलका नेताविरुद्ध संसदीय दलको विधान २०७४ को धारा १८ को उपधारा ६ बमोजिम अविश्वासको प्रस्ताव दर्ता भएको हो । त्यसअघि चारजना मन्त्री मधु श्रेष्ठ, मीनकृष्ण महर्जन, विमल ठकुरी र सुरजचन्द्र लामिछानेले मख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री बहादुरसिंह लामासँगको असन्तुष्टि मन्त्रिमण्डल गठनदेखिकै हो । सबै शीर्ष नेताहरुलाई खुशी राख्न खोज्दा सन्तुलन बिग्रिएको हो । पछिल्लो समय बजेट विनियोजनमा मन्त्रीले मनोमानी गर्दासमेत मुख्यमन्त्रीले हस्तक्षेप गर्न नसकेको गुनासो अधिकांश कांग्रेस सांसदहरुको छ । कांग्रेसको नीति तथा कार्यक्रमभन्दा पनि व्यक्तिगत प्रयोजनका लागि बजेटमा मन्त्रीहरु हाबी भएको गुनासो सांसदहरुले गरेका थिए । ती असन्तुष्ट सांसदहरुले पार्टी सभापति देउवालाई भेट गरी गुनासो सुनाइसकेका थिए ।
बागमति प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । यसअघिको संसदीय दलका नेता निर्वाचनमा लामाले २१ र इन्द्रबहादुर बानियाँले १६ मत पाएका थिए । ५ मतको अन्तरमा लामा बागमति कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।
अहिले ठ्याक्कै परिस्थिति उल्टो भएको छ । संसदीय दलको अविश्वास प्रस्ताव दर्ता गर्दा २१ जनाले हस्ताक्षर गरेका छन् । संसदीय दलमा लामाको पक्षमा १६ जना मात्र बाँकी रहेका छन् ।
यी हुन् मत परिवर्तन गर्ने सांसदहरु
दलका नेता परिवर्तनका लागि आज शुक्रबारबाटै प्रकृया सुरु भएको छ । बहादुरसिंह संसदीय दलको नेतामा निर्वाचित हुँदा मतदान गरेका ६ जनाले अहिले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । पहिला बहादुरलाई मत हालेका उर्मिला केसी, सुना परियार, यमुनादेवी श्रेष्ठ र मन्त्री मधुकुमार श्रेष्ठ, शान्ता ढकाल र माया श्रेष्ठले अहिले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । बानियाँलाई मतदान गरेकी मन्त्री हरिप्रभा खड्गीले भने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छैनन् ।
प्रदेश संसदीय दलको विधान बमोजिम दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा स्पष्ट बहुमत सांसदको हस्ताक्षर छ । यदि केन्द्रीय नेताहरुबाट हस्तक्षेप भएन भने अब बन्ने संसदीय दलको नेता निर्विरोध हुने लगभग पक्काजस्तै छ ।
बहादुरसिंहसँग संसदीय दलको निर्वाचनमा पराजित भएका बानियाँ संसदीय दलका नेता बन्ने लगभग पक्काजस्तै छ । कांग्रेसमा संसदीय दलका नेता नै मुख्यमन्त्री हुने परम्परा छ । बानियाँ संसदीय दलको नेतामा छानिए भने उनी नै बागमति प्रदेशको मुख्यमन्त्री बन्ने छन् ।




प्रतिक्रिया