कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला

‘संविधान कार्यान्वयनको समीक्षा र संशोधन गर्न सरकारले कार्यदल बनाएर अघि बढ्छ’



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’ उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए ।

‘चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष अबको मङ्सिरमा पुरा हुन्छ । अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौ’, सिटौलाले भने, ‘८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन । गर्नुपर्छ ।’

त्यसैगरी नेता सिटौलाले पार्टीको बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापति शेरबहादुर देउवाले बोलाएर मिलाउनु पर्ने बताएका छन् । उनले सकभर प्रदेशको विवाद प्रदेश संसदीय दलले मिलाउनुपर्ने मान्यता आफ्नो रहेको बताए ।

अविश्वासको मत दर्ता हुने अवस्था पार्टी भित्र आउनु दुखद रहेको उनको भनाइ छ । प्रदेश संसदीय दलले मिलाउन नसके सभापतिले सबैलाई बोलाएर मिलाउनु पर्ने उनको भनाइ छ ।

नेता सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । उनले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् ।

‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो,’ उनले भने ।

उनले सरकारको वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन नसकेपनि यसको विकल्प नरहेको बताए ।

‘अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि यो सरकार निरन्तर जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन’ उनले भने, ‘अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिंदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’

नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने कुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने बताए ।