काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको प्रष्टीकरण दिएका छन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको, तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको बताए ।
पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको कोइरालाले बताए ।
कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने दाबी गरे ।
नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे ।
‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र ?’
उनले आफू राजनीतिमा सक्रिय भएको व्यक्ति भएकाले राष्ट्रपति लगायतका विशिष्ट अधिकारीसँग बेला बेला भेट भइरहेने बताए । सोही प्रक्रिया अन्तर्गत पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गरेको उनको भनाइ थियो ।
‘हामी राजनीति गर्दैछौं । हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ । म प्रतिप्रश्न गर्छु नेपाली कांग्रेस र माओवादी जब सरकारमा थियो त्यतिबेला मैले ओलीजीलाई भेटिरहेको थिएँ,’ कोइरालाले भने, ‘त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन । त्यतिबेला पनि छलफल गरेको हो । त्यस्तै छलफल अहिले पनि राजनीतिक दल र नेताहरूबीच भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ ।’
उनले थप भने, ‘राष्ट्रपति हुँदा पनि भेटेको थिएँ । राष्ट्रपति छाडेपछि पनि निवासमै गएर भेटेको थिएँ । यो पनि त्यस्तै भेट मात्रै हो ।’
संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फर्कनु लोकतन्त्रका लागि खतरनाक भएको पनि बताए ।
कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल नबनाएको गुनासो गरे । निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउँदै उनले यसमा राजनैतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोपसमेत लगाए ।


प्रतिक्रिया