प्रतिस्पर्धा चुनावमा गरौं, अरू बेला विकासका काममा साझा प्रयास गरौं : प्रधानमन्त्री ओली

प्रतिस्पर्धा चुनावमा गरौं, अरू बेला विकासका काममा साझा प्रयास गरौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘अहिले आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेका छन् । चालू सोह्रौं योजनाको सामाजिक न्याय, सुशासन र समृद्धिका दुरदृष्टि, लक्ष्य, र उद्देश्यहरु एलडिसी स्तरोन्नति पछिको अवस्थालाई आधारमानी तयार गरिएको छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले चुनावबाहेक अरू बेला विकासका काममा साझा प्रयास गर्न आह्वान गरेका छन् । उनले साझा प्रयासले परिवर्तन ल्याउन सकिने बताए ।

‘सिंगो देश एकजुट भएर कति हामी अगाडि बढ्न सक्छौँ, मुख्य कुरा त्यो हो, विकासका मामलामा । प्रतिस्पर्धा चुनावका बेलामा गरौँ । र, अघिपछि विकासका काममा साझा प्रयासका साथ अघि बढौँ । हामी परिवर्तन ल्याउन सक्छौँ,’ उनले भने ।

उनले देश अर्थतन्त्रमा आत्मनिर्भर हुने र राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने बताएका छन् । त्यसपछि लगानीका लागि सकारात्मक वातावरण बन्ने भनाइ उनको छ ।

पहिले आत्मविश्वास बढाएर उत्पादकत्व र उत्पादनमा वृद्धि गरेपछि बलियो हुँदै जाने उनले बताएका छन् । ‘विश्वास छैन भनेर कतिपय साथीहरूले भनिरहनुभएको छ । निजी क्षेत्रलाई सोधौँ त,’ उनले भने ।