चक्रे मिलनसहित ४७ जना गुन्डा ठमेलबाट पक्राउ

चक्रे मिलनसहित ४७ जना गुन्डा ठमेलबाट पक्राउ



काठमाडौं । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् ।

चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् ।

गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौंका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो । पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीले बताएकाे छ ।