एमाले विभाजन गर्नु गल्ती भयाे : झलनाथ खनाल

एमाले विभाजन गर्नु गल्ती भयाे : झलनाथ खनाल

“एमालेमा जुन विद्रोह गरियो, त्यसकाे औचित्य पुष्टि नै भएन अहिलेसम्म”



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजन गरेर गल्ती गरेको स्वीकार गरेका छन् ।

पत्रकार जगदीश खरेलसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री खनालले एमाले विभाजन गरेर नयाँ राजनीतिक दल गठन गर्नु गल्ती भएको भन्दै पश्चाताप गरेका हुन् ।

“म त अब के भन्न सुरु गरेको छु भने जतिबेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म”, पूर्वप्रधानमन्त्री खनालले भने, “नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले । त्यो संस्थालाई त्यतिबेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो ।”

नेता खनालले एमालेमा विद्रोह गरेर नयाँ दल बनाउने निर्णयको औचित्य प्रमाणित गर्न नसकिएको पनि स्पष्ट पारेका छन् । उनले भने, “एमालेमा जुन विद्रोह गरियो, त्यो पुष्टि नै भएन अहिलेसम्म ।”

उनले आफ्नो राजनीतिक संघर्षको इतिहास स्मरण गर्दै भने, “नेकपा एमालेप्रति अनुराग छ, माया छ । त्यो पार्टी बनाइयो । लडाइँ गरियो । जेल नेल खाइयो । अनि माया हुँदैन ?”

खनालले व्यक्तिगत विरोधभन्दा संस्थागत महत्वलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्वको पक्षमा नजाने तर एमालेलाई एक महत्वपूर्ण कम्युनिस्ट संस्थाका रूपमा हेर्ने दृष्टिकोण व्यक्त गरेका छन् ।

खनालले आफ्नै वर्तमान पार्टीको नेतृत्व माधवकुमार नेपालमाथि पनि गम्भीर आपत्ति जनाएका छन् । उनले अध्यक्ष नेपालले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।