रुम्जाटारको पहिचान कोदो देशव्यापी बनाऔंः सभापति खतिवडा

रुम्जाटारको पहिचान कोदो देशव्यापी बनाऔंः सभापति खतिवडा


ग्लोब नेपाल
918
Shares

रुम्जाटार । प्रतिनिधिसभा सदस्य र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सिद्धिचरण नगरपालिकाले रुम्जाटारलाई कोदो ‘जोन’को रुपमा विकास गर्ने लक्ष्य राखेकोमा खुशी व्यक्त गरेका छन् । कोदो दिवस मनाउन शुक्रबार रुम्जाटार पुगेका खतिवडाले कोदोलाई प्रवर्द्धन गर्न खोजेकोमा नगरपालिका परिवारलाई विशेष धन्यवाद दिए ।

‘रुम्जाटार एउटा टारको रुपमा मात्र परिचित भएका बेला कम सिँचाइमा पनि उत्पादन हुने कोदो उत्पादनलाई प्रवर्द्धन गर्न नगरपालिकाले देखाएको चासो एकदमै सह्रानिय छ’ उनले भने, ‘साउन १६ लाई देशले कोदो दिवस मनाइरहेका बेला सिद्धिचरण नगरपालिकाले रुम्जाटारलाई कोदो जोनका रुपमा अगाडि बढाउने प्रयास गरेकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

‘रुम्जाटारको हिजोको पहिचानलाई अब अर्गानिक उत्पादनसँग जोडिएर यसलाई देशव्यापी बनाउनुपर्छ’ विगत सम्झदै सभापति खतिवडाले भने, ‘म यही ठाउँमा हुर्केको हुँ, मलाई कोदो पर्मका बारेमा पनि राम्रोसँग थाहा छ । गीत गाउँदै रमाइलो गर्दै महिनौंसम्म यहाँ कोदो रोपिन्थ्यो, यसैलाई हामीले निरन्तरता दिऔं । रुम्जाटारको पहिचान कोदो देशभरि फैलाउन हामी सफल हुनेछौं ।’

उनले भने, ‘कोदोको परिकार धेरै नसर्ने रोगका विरामीलाई लाभदायिक हुने विज्ञहरुले बताइका छन् । सिँचाइ नभएको ठाउँमा पनि कोदो उत्पादन हुन्छ । कोदोको उत्पादन पहाडमा मात्र होइन, तराइमा पनि हुने विज्ञ साथीले भनिसक्नु भयो । उहाँले विभिन्न ९ जातको कोदोको बेर्ना लिएर आउनु भएको छ ।’

‘रुम्जाटारमा उत्पादन भएको कोदो अन्तर्राष्ट्रिय जगत्मा निर्यात गर्न सकियो भने, यसको फाइदा रुम्जाटारका किसानले मात्र लिँदैनन् समग्र जिल्लाले लिनसक्ने वातावरण बन्न सक्छ’ उनले भने, ‘दुई माना रोपेर ४ माना उत्पादन हुनसक्ने बेलामा किसानले अर्गानिक खेती गरेर मूल्य लिन सके भने त्यो अर्को उपलब्ध हो’ सभापति खतिवडाले भने, ‘धेरै वर्षदेखि रोकिएको रुम्जाटारको हवाइ उडान अहिले सुचारु गरिएको छ । यही हवाई सेवामार्फत् यहाँका उत्पादन हामीले काठमाडौं पुर्‍याएर डिपार्टमेन्ट स्टोरमा बेच्न सक्छौं ।’

‘प्रकृतिले दिएको सुन्दरतामा मात्र सीमित छैन रुम्जाटार, ज्ञान दिलदासले चिनाएको रुम्जाटारको सम्पदा र समाज बेलायतको राजदरबार बकिङ्घम प्यालेसमा समेत चर्चा चल्छ’ उनले भने, ‘लोकगायकले पनि रुम्जाटारको गीत गाएका छन् । कुमार बस्नेतले समेत रुम्जाटारको गीत गाएका छन् । यहाँका आमा दिदीबहिनीहरु सम्पदा र संस्कृति जोगाउन प्रख्यात हुनुहुन्छ ।’

‘म यहीको विद्यालयमा कक्षा ८ मा अध्ययन गर्न आएको थिएँ । पहिलो हुनेलाई फस्टब्वाइ नै भनिन्थ्यो त्यतिबेला । म मानेभञ्ज्याङमा पहिलो हुन सकिनँ, दोस्रो भएँ । मेरा साथीहरु यहीँ हुनुहुन्छ, म यहाँ आएपछि तेस्रो हुन पनि नसक्ने अवस्था आयो’ उनले भने, ‘हामीसँगै पढेका साथीहरु कोही सैन्य सेवामा हुनुहुन्छ, कोही इन्जिनियर हुनुहुन्छ । कोही शिक्षक हुनुहुन्छ । सबै क्षेत्रमा हुनुहुन्छ । म यो ठाउँमा हुर्केको हुँदा रुम्जाटारको महत्व अझ बढी ज्ञान छ ।’

‘यहाँका मान्छेको संगतले मेरो राजनीति मात्र होइन सामाजिक जीवनमा समेत ठूलो प्रेरणा प्राप्त भएको छ । ज्ञान दिलदास मात्र होइन, हिजोका प्रधानाध्यापक दिलराम लामिछानेलाई स्मरण गर्न चाहन्छु । विश्वराज सर यहाँकै हुनुहुन्छ । रुम्जाटार यहाँको मैदानले मात्र परिचित हुने ठाउँ होइन, देशकै सुन्दर भूमि हो’ सभापति खतिवडाले भने, ‘यो सुन्दर भूमिमा सुन्तला र आलुको उत्पादनको माध्यमबाट वा राडीपाखीको उत्पादनको माध्यमबाट अथवा कोदो उत्पादनको माध्यमबाट रुम्जाटारलाई विश्वव्यापी रुपमा चिनाउनुपर्छ ।’