मेरो भ्रष्टाचारको केस होइन, प्रतिशोध साँधियो : माधव नेपाल

मेरो भ्रष्टाचारको केस होइन, प्रतिशोध साँधियो : माधव नेपाल



विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।

‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने ।

यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको बताउँदै उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।

उनले एकीकृत समाजवादी र माओवादीबीच एकीकरण नभएर सहकार्य तथा मोर्चाको विषयमा मात्र छलफल भएको बताए ।

पार्टीका अर्का नेता झलनाथ खनालले एक टेलिभिजन कार्यक्रममा एमाले विभाजन गराएर गल्ती भएको अभिव्यक्ति दिएका थिए । यस विषयमा अध्यक्ष नेपालले पार्टीको विपक्षमा गएर अभिव्यक्ति दिन नहुने बताए ।

अध्यक्ष नेपालले केपी शर्मा ओलीको दम्भ र अंहकारका कारण नेपालको कम्युनिस्ट आन्दोलनलाई सकिने मोडमा पुगेको बताए । उनले एमालेमा अहिले चलिरहेको ‘तमासा’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई सक्ने जिकिर गरे ।

‘एमालेमा अहिले जुन खालको तमासा चलिरहेको छ, त्यसले नेपालको कम्युनिस्ट आन्दोलन सक्छ । यसमा अध्यक्ष ओली लागिपर्नुभएको छ,’ उनले भने ।

अध्यक्ष नेपालले पूर्वराष्ट्रिपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुन रोक्ने खेललाई ‘तमासा’को संज्ञा दिए । निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलनको अस्तित्व समाप्त हुने उनको भनाइ छ ।

नेपालले पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रिपतिलाई राजनीतिमा सक्रिय हुन संविधान र कानुनले नरोकेको पनि बताए ।