जिल्लाको आदेश बदर गर्न माग गर्दै उच्च अदालत गए दुर्गा प्रसाईं

जिल्लाको आदेश बदर गर्न माग गर्दै उच्च अदालत गए दुर्गा प्रसाईं



काठमाडौं । जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चार जना उच्च अदालत पाटन पुगेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको हो ।

चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले निवेदन दिएका हुन् ।

उनीहरूले पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश बदर गर्न माग गरेका छन् ।

त्यस्तै उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट उनीहरूविरूद्ध निवेदन दिएको छ । दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

दुर्गा प्रसाईंमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो ।

प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।