झलनाथलाई माधवले भने– खुरुक्क राजीनामा दिएर बिदा हुनुस्

झलनाथलाई माधवले भने– खुरुक्क राजीनामा दिएर बिदा हुनुस्



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्मानीत नेता झलनाथ खनाललाई ‘खुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा लिन’ सुझाव दिएका छन् । खनालले एक अन्तर्वार्तामा एमाले विभाजन गरेर गल्ती भएको भन्दै पश्चाताप गरेपछि अध्यक्ष नेपालले राजीनामा दिएर बिदा हुन सुझाव दिएका हुन् ।

‘उहाँले बोलेको हो कि होइन । यदि उहाँले त्यो बोल्नुभएको हो भने अब पार्टीबाट बिदा गरिदिनुपर्छ । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक अधिकार नै छैन । उहाँले खुरुक्क राजीनामा दिनुपर्छ । बिदा भएर जानुपर्छ’, शुक्रबार विराटनगरमा पत्रकारसित नेपालले भने ।

उनले खनाललाई पार्टीको निर्णय नमान्ने नेता पनि भने । ‘पार्टीको निर्णय नमान्ने नेताहरूको सूचीमा उहाँ नम्बर एकमा पर्नुहुन्छ,’ नेपालले भने, ‘उहाँलाई पार्टीमा बस्ने नै अधिकार छैन । पार्टीको अनुशासन मानेर अघि बढ्न नसक्नेहरूले आफैँ बाटो खुला गर्नु राम्रो हो ।’

पत्रकारहरूले उनलाई भ्रष्टाचारमा मुद्दा चलिरहे पनि पार्टी चलाइरहनुभएको छ’ भनेर प्रश्न गरेका थिए । जवाफमा नेपालले भने, ‘मेरो केस त कुनै भ्रष्टाचारको केस नै होइन । यो प्रतिशोध मात्रै हो ।’