आरजुको बाटो क्लियर गर्न बहादुरको बली

आरजुको बाटो क्लियर गर्न बहादुरको बली



काठमाडौं । अन्ततः बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन बाध्य बनाइयो । राजीनामा नदिने अड्डी कसेका लामा पार्टी सभापति शेरबहादुर देउवासँगको भेटपछि राजीनामाको ड्राफ्ट खल्तीमा हालेर हेटौडातर्फ लागेका थिए ।

इन्द्रबहादुर बानियाँ छिट्टै बागमति प्रदेशका मुख्यमन्त्री बन्दैछन् । बुझिनसक्नु के छ भने, कानुन र संविधान बाधक हुँदाहुँदै बागमति कांग्रेसले लामालाई हटाएर बानियाँलाई किन मुख्यमन्त्री बनाउन चाह्यो ? यो कुराले धेरैलाई अलमलमा पारेको छ । संस्थापन समूहले नै बहादुरलाई संसदीय दलको नेता बनाएको थियो । एक वर्ष नपुग्दै संस्थापनले बहादुरलाई मुख्यमन्त्री पद छोड्न बाध्य पा-यो ।

बागमति कांग्रेस सभापतिसमेत रहेका बानियाँ र सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) बीचको द्वन्द्व सतहमा देखिन्छ । यही द्वन्द्वमा डिना शक्तिशाली हुँदा त्यसको फाइदा उठाएर लामा मुख्यमन्त्री बन्न पुगेका थिए । अहिले परिस्थिति बद्लियो डिना कमजोर भइन, बानियाँ बलियो भए, लामा ढले ।

२०७४ मा मकवानपुर–२ र ०७९ मा निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडेकी सहमहामन्त्री डिनालाई बानियाँले अन्तरघात गरेको आरोप लाग्दै आएको छ । यी दुई नेताको दुस्मनी पुरानो हो । मकवानपुर कांग्रेस सांगठनिक हिसाबले बलियो भए पनि अन्य राजनीतिक दलसँग गठबन्धन गर्दासमेत निर्वाचन जित्दैन । कारण यी दुई नेताबीचको द्वन्द्व हो ।

पार्टी वरियतामा डिना सहमहामन्त्री हुन् भने बानियाँ प्रदेश सभापति छन् । यी दुई नेताबीच पार्टी संस्थापनको नजिक बन्ने प्रतिस्पर्धा चल्छ । अप्ठ्यारो परिस्थितिमा समेत डिनाले सभापति शेरबहादुर देउवालाई साथ दिएकी थिइन् । सभापति देउवाले नै डिनालाई सहमहामन्त्रीसम्म साथै हिडाएकै हुन् ।

अहिले परिस्थिति बद्लिएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री आरजुका लागि पनि डिनालाई साथै हिडाउन सक्ने अवस्थामा सभापति देउवा छैनन् । देउवा क्याम्पबाट डिनालाई मिल्काउने परिस्थिति बनेपछि बानियाँको भाग्य चम्किएको हो ।

देउवा क्याम्पमा डिना किन अटाइनन्
पार्टीको १५ औं महाधिवेशनमा महिला महामन्त्री पद थप हुँदैछ । यसबारे सबै नेताहरुमा सैद्धान्तिक सहमति भइसकेको छ । महिला महामन्त्री पद थप्ने निर्णय केन्द्रीय समितिले पास गरेर महाधिवेशनबाट अनुमोदन गराउने कांग्रेसको तयारी छ ।

महामन्त्री पदका योग्य महिला उम्मेदवार औंलामा गन्न सकिने मात्र छन् । डिना उपाध्याय, आरजु राणा, पुष्पा भुषाल र डिला संग्रौला मात्र हुन् । यसमध्ये सहमहामन्त्री भइसकेको र महामन्त्रीको स्वभाविक उम्मेदवार डिना मात्र हुन् । भुषाल र संग्रौला अहिले केन्द्रीय सदस्य छन्, उनीहरु सहमहामन्त्रीको स्वभाविक उम्मेदवार बन्न सक्छन् ।

यसपटक महिला महामन्त्री पद लिन सकिएन भने सुजाता कोइरालाको अवस्थामा पुग्नुपर्छ भन्ने कुरा आरजुले राम्रोसँग बुझेकी छन् । आरजुलाई महामन्त्री पदमा पु-याउन सभापति देउवाले अहिलेदेखि नै बाटो क्लियर गर्न थालेका हुन् । यही बाटो क्लियर गर्ने सिलसिलामा बागमती प्रदेशको मुख्यमन्त्री बहादुरसिंहलाई देउवाले बली चढाएका हुन् ।

सभापति देउवाले डिनालाई हुत्याएर बानियाँलाई काँधेकुरी हाल्नुको अर्थ कांग्रेसजनले राम्रोसँग बुझेका छन् । डिना अब देउवा क्याम्पमा छैन भन्ने स्पष्ट सन्देश सर्वसाधारणले बुझेका छन् । सर्वसाधारणले त्यत्ति मात्र बुझेका छैनन्, १५ औं महाधिवेशनमा महिला महामन्त्री पदको बाक्सा बोकेर आरजुले मत माग्ने छिन् । क्याम्प परिवर्तन गरेर डिनाले पनि सोही पदमा मत माग्ने छिन् । त्यसबेला थाहा हुनेछ, सत्ताको उन्मादमा पेलिएका कार्यकर्ताको मूल्यांकन मतदाताले कसरी गर्नेछन् भनेर ।