प्रचण्ड र जनार्दनले दिए एकअर्कालाई आत्मालोचना गर्न सुझाव

प्रचण्ड र जनार्दनले दिए एकअर्कालाई आत्मालोचना गर्न सुझाव

गल्ती गर्नेले आत्मालोचना गर्ने हो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्नु पर्ने बताए ।

स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्ने बताएका थिए ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा हो ।’

बैठकको सुरुको दिन एजेन्डा प्रस्तुत गर्ने क्रममा प्रचण्डले उपमहासचिव जनार्दन शर्माले आन्तरिक विषय बाहिर लगेकोमा आत्मालोचना गर्न सचेत गराएका थिए ।

अध्यक्षको जवाफ फर्काउँदै शर्माले अजाको बैठकमा प्रचण्डले आत्मालोचना गरे आफूले पनि गर्न तयार भएको बताएका थिए ।

उपमहासचिव शर्माले पार्टी निर्माणमा आफूले पार्टी निर्माणकाे प्रश्न उठाए बापत के सजाय भोग्नुपर्ने हो त्यो भोग्न तयार रहेको बताएका थिए ।

बैठकमा आफ्नो धारणा राख्दै शर्माले आफूले पार्टी निर्माणको कुरा उठाउँदा विभाजनको दुष्प्रचार गर्ने काम भएको बताए ।

त्यसैगरी पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने कुनै कारण नभएको बताए । स्थायी समिति बैठकमा भएको छलफलबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै उनले नेतृत्वले आत्मालोचना गर्नु नपर्ने बताएका हुन् ।

‘अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर धारणा राख्नुभएको छ । जर्नादनले नेतृत्वको विषयमा बोल्नुभएको छैन । समाजवादी क्रान्तिको आधार तयार गर्ने भनिएको छ । विचार निर्माण, संगठन सबै नेतृत्वले गर्ने हो । नेतृत्व विकासका लागि व्यवस्थित गर्नुपर्छ । तर अहिले प्रचण्डको विकल्प छैन’, उनले भने ।

उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत ११ लाखमा झर्नुको कारण नेतृत्वको कमजोरीका कारण भएकाले आत्मालोचना गर्नुपर्ने मत राखेका थिए ।

त्यसको जवाफमा सापकोटाले भने– ‘राजनीतिमा ३१ लाखबाट ११ लाखमा झर्यो भने ११ लाखबाट ३१ लाखमा पनि पुग्न सक्छ । अध्यक्षले आत्मालोचना गर्न केही काम गर्नुभएको छैन । एकाधले भनेको कुनै अर्थ छैन ।’

उपमहासचिव वर्षमान पुनले बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताए । आजको बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा राख्ने क्रममा यो पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए ।

‘कतिपय मेरा पनि कमजोरी थिए, कति अध्यक्षका कति साथीभाईका थिए,’ शर्माको भनाइ उद्धृत गर्दै पुनले भने, ‘म यो पार्टी छाड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु ।’