यू–२० महिला एसियन कप छनोट, नेपालले आज भुटानसँग खेल्दै

यू–२० महिला एसियन कप छनोट, नेपालले आज भुटानसँग खेल्दै



काठमाडौं । नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ । भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ ।

समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली भुटानविरूद्धको खेलबाट सुरू गर्नेछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए ।

यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन् ।

३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।