काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले रास्वपा र राप्रपासँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले महिनौँसम्म सदन बहिस्कार गर्दा पनि वार्ता नगरेको भन्दै असन्तुष्टि जनाए ।
सापकोटाले सुशासन, स्थिरता र संविधान संशोधनको नारा दिएको सरकारले संविधान संशोधनबारे अहिलेसम्म छलफल नगरी रास्वपालाई गाली गरेर बसेको बताएका हुन् ।
उनले रास्वपा प्रियतावादी दल भएको र त्यसलाई गाली गर्नुको कुनै औचित्य नभएको पनि बताए ।
‘गिरीबन्धुमा स्मेल नै आउने गरी, लिचीबारीमा रमाइलो गर्ने । सुशासन, स्थिरता र संविधान संशोधनको नारा दिएको सरकारले आजका दिनसम्म संविधान संशोधनबारे एक मिनेट कसैसँग छलफल नगर्ने? अनी प्रियतावादीहरूलाई गाली गरेर के उपलब्धी छ ?,’ उनले भने।
उनले राम्रो काम गर्नका लागि प्रमुख प्रतिपक्षी दल राम्रो काम गर्ने कुराका लागि समर्थन गर्न तयार भएको बताए । ‘कहाँ ल्याप्चे हान्न पर्यो? ब्ल्यांक पेपरमा सिग्नेचर गर्नपर्छ भने पनि प्रतिपक्षी तयार छ,’ उनले भने ।
उनले रास्वपा र राप्रपाले जे विरोध गरेको पनि ठीक नभएको बताए । ‘तर लोकतन्त्र त्यो पनि होइन जहाँ महिना दिनसम्म चौथो र पाँचौं दलले बहिस्कार गर्दा केहो भनेर छलफल नगर्ने अनी ठूला डाँकाले गाली गर्ने अनी बाहिर जनताले पत्याइदिन्छन् भन्ठानेको ? कसैले पत्याउँदैन ? बोलाउनुस्, छलफल गर्नुस् मानेनन् भने के कुराले मानेनन् यहाँ आएर संसदमा भन्नुस् । त्यसबेला तपाईहरू जिम्मेवार हुनुभएको ठहर हुन्छ,’ उनले भने ।


प्रतिक्रिया