वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता


ग्लोब नेपाल
0
Shares

गलकोट । काठेखोला गाउँपालिका–७ रेशका चेतबहादुर थापा सन् २०७२ मा रोजगारीका लागि साउदी गएका थिए। त्यहीँ उनको मृत्यु भयो। उनको परिवारले १० वर्षसम्म कुनै राहत पाएन। तर आप्रवासी स्रोत केन्द्रको पहलमा उनीहरूको परिवारले राहत रकम प्राप्त गरेको छ।

साउदी सरकारले उनको विवरण पहिचान गर्न नसकेकाले समस्या भएको थियो, जसलाई केन्द्रले समन्वय गरी समाधान गर्‍यो। वैदेशिक रोजगारीमा गइ अङ्गभङ्ग भएका परिवारलाई उपचार, शव झिकाउने, क्षतिपूर्ति दिलाउने र मनोपरामर्शजस्ता काममा केन्द्र सक्रिय रहेको छ।

केन्द्रका सूचना तथा परामर्शकर्ता गङ्गा शर्माका अनुसार एक वर्षमा १२८ वटा वैदेशिक रोजगारीसम्बन्धी उजुरी दर्ता भएका छन्, जसमा ५८ वटाको समस्या समाधान भएको छ।

७२ वटा ठगीसम्बन्धी उजुरीमध्ये २२ वटामा समाधान भई ५५ लाख १५ हजार रुपैयाँ फिर्ता भएको जानकारी दिइएको छ। विदेशमा सम्पर्कविहीन, कागजपत्र नभएका वा जेल जीवन बिताइरहेका २५ उजुरीमध्ये १३ वटाको समाधान भएको छ।

एक वर्षको अवधिमा विदेशमा मृत्यु भएका १० जनाको शव ल्याइएको छ। मृत्यु र अङ्गभङ्गसम्बन्धी १६ उजुरीमध्ये १३ वटाको समाधान भई ६७ लाख ६ हजार रुपैयाँ राहत रकम पीडित परिवारले पाएको छ।

आप्रवासी स्रोत केन्द्र बागलुङका प्रमुख मीन उपाध्यायका अनुसार वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ठगी, अङ्गभङ्ग, मृत्यु र जेल पर्नेजस्ता घटना बढेका छन्। काम, तलब, कम्पनी फरक हुनु र पासपोर्ट जफत गरिनेजस्ता उजुरीमध्ये १५ उजुरी दर्ता भई १० वटाको समाधान गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कन्सुलर सेवा विभागमार्फत २१ लाख ३० हजार २५४ रुपैयाँ राहत रकम वैदेशिक रोजगारी पीडितलाई वितरण गरिएको छ।