काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट गरेका हुन् ।
भेटपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने बताए । लामिछाने निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको तर्क गरे ।
भेटेपछि उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन । न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ थप अपराज गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन । त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो ।’
उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भएपनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए ।
लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताए । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताए ।
‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो ।’
‘बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ,’ उनले भने, ‘यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’


प्रतिक्रिया