काठमाडौं। सिन्धुलीका युवकको भारत पुर्याएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नुवाकोट घर भई घटनामा संलग्न समीर परियारलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
सिन्धुलीको दुधौली नगरपालिका–१ का ३२ वर्षीय खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको थियो। पोखरामा भेटिएका एक भारतीय नागरिकमार्फत भुजेललाई होटलमा वेटरको काम लगाइदिने भन्दै भारत पुर्याइएको थियो।
भारत पुर्याएपछि भुजेललाई बन्धक बनाई जबरजस्ती मिर्गौला निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतबाट फर्किएपछि भुजेलले शरीरमा अस्वाभाविक दुखाइ महसुस गरेपछि अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला निकालिएको पुष्टि भएको थियो।
ब्युरोका अनुसार घटनामा अन्य व्यक्ति संलग्न हुन सक्ने आशंका गरिएको छ र अनुसन्धान जारी छ।


प्रतिक्रिया