भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने

भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न सहयोग गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने



काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्‍याएको बीबीसीले जनाएको छ ।

अमेरिकी प्रशासनले मादुरोलाई ‘विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करहरूमध्ये एक’ भएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मादुरोको आलोचक रहँदै आएका छन् ।

गएको जनवरीमा भएको विवादास्पद चुनावपछि मादुरो सत्तामा फर्किनु भए पनि अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति मादुरो लागूपदार्थको तस्करीमा प्रत्यक्ष रूपमा संलग्न भएको भन्दै पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार अब दोब्बर गरिएको बताउनुभएको खबरमा उल्लेख छ ।

यसैबीच भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकाको नयाँ घोषणलाई ‘अर्थहीन’ भन्दै यसलाई ‘राजनीतिक प्रचार’ का रूपमा वर्णन गरेका छन् ।