सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन : प्रचण्ड

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन : प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् ।

आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोँच नरहेको बताए ।

‘यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन। हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौं,’ उनले भने ।

माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरू गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डासहित अघि बढ्ने उनको भनाइ थियो ।

‘त्यसैले हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौं । जनताको गुनासो र ती गुनासा समाधानका लागि अभियान पुनः सञ्चालन गर्न लागिएको हो,’ उनले भने ।

हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताए ।

फरक प्रशंगमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको र त्यहाँ द्रूतगतिमा काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।