काठमाडौं । महालक्ष्मी बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका-१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा कर्मचारी पक्राउ परेका हुन् ।
उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रफमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्याएको आरोप छ । केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले मिति २०८२ साउन २४ गते उनीहरूलाई पक्राउ गरी बैङ्किङ कसुर मुद्दा दर्ता गरेको छ ।
जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।


प्रतिक्रिया