सिड्नीमा अन्तर्राष्ट्रिय आदिवासी दिवस भव्यताका साथ सम्पन्न (फोटोफिचरसहित)

सिड्नीमा अन्तर्राष्ट्रिय आदिवासी दिवस भव्यताका साथ सम्पन्न (फोटोफिचरसहित)


ग्लोब नेपाल
81
Shares

सिड्नी । नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाले अन्तराष्ट्रिय आदिवासी दिवस भव्यताका मनाएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच सहकार्य, ऐक्यबद्धता र सचेतना बढाउने उद्देश्यसहित आइतबार साँझ ५ पिटर्सह्याम टाउन हल (107 Crystal Street, Petersham NSW 2049) मा आयोजित कार्यक्रममा नेपालबाट आएका विश्वभक्त दुलाल (आहुती) प्रमुख वक्ता थिए ।

‘आदिवासी जनताको आत्मनिर्णयको अधिकारः खाद्य सुरक्षामा मार्गचित्र’ भन्ने नारासहित आयोजना भएको कार्यक्रममा ख्याति प्राप्त कलाकारको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जिव शर्मा, फेडरल लेवर सांसद एमएस अस्भाबनीलगायतका विशिष्ट अतिथिहरूसहित स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (निन्फा) का अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक पहिचान झल्काउने लोकनृत्य, गीत संगीत र परम्परागत मौलिक पोशाक प्रदर्शन गरिएको थियो ।

प्रमुख वक्ता आहुतीले आदिवासी जनजातिमाथि सयौं वर्षसम्म भएको उत्पीडन र उनीहरुले मुक्तिका लागि आ–आफ्नो भूमिमा चालेको कदमलाई स्मरण गर्न संयुक्त राष्ट्र संघले ९ अगस्टलाई विश्व आदिवासी दिवस मनाउने निर्णय गरेको बताए । त्यही बेलादेखि विश्व आदिवासी दिवस मनाउने चलन चलेको उनले बताए । आहुतीले भने, ‘आजको दिन आदिवासीले गरेको बलिदानलाई स्मरण गर्न चाहन्छु । शुभकामना दिन चाहन्छु ।’

कार्यक्रममा अष्ट्रेलियामा नेपाली समुदायको पहिचान, एकता र सहकार्यको अनुपम उदाहरण देखिन्थ्यो । सबै नेपाली संघसंस्थाको उपस्थिति र सहभागिताले कार्यक्रमलाई सफलतातर्फ डोर्‍याएको थियो ।