काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले डोनबास क्षेत्र छाड्न रुसी प्रस्तावलाई अस्वीकार गर्ने बताएका छन् । उनले डोनबास क्षेत्र छाडे भविष्यमा रुसले थप आक्रमणको आधार बनाउन सक्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भेटवार्ताअघि जेलेन्स्कीको अभिव्यक्ति आएको बीबीसीले जनाएकाे छ ।
ट्रम्पले कुनै पनि शान्ति सम्झौतामा केही क्षेत्रको आदानप्रदान समावेश हुने बताएका छन् । पुटिनको मागमा किभले आफ्नो नियन्त्रणमा रहेको डोनबासका भाग छोड्नुपर्ने विश्वास गरिएको छ ।
यसैबीच, रुसी सेनाले आफ्नो आक्रमण जारी राख्दै युक्रेनको पूर्वी सहर डोब्रोपिलिया नजिकै युक्रेनको थप भूमि कब्जा गर्दै अघि बढेको छ । रुसी सेनाले छोटो समयमा १० किलोमिटर अगाडि बढेको बीबीसीले जनाएको छ ।
जेलेन्स्कीले केही ठाउँ कब्जा गरेको स्वीकार गरे पनि युक्रेनले आक्रमणमा संलग्नलाई चाँडै नष्ट गर्ने बताए । “यो केवल पुटिनले ट्रम्पसँग भेट्नुअघि रुस अगाडि बढिरहेको छ र युक्रेन हारिरहेको छ भन्ने देखाउन वातावरण सिर्जना गरेको मात्र हो भन्नेमा हामी स्पष्ट छौँ,” उनले भने ।
पुटिन र ट्रम्पबीच शुक्रबार अलास्काको एन्करेजमा भेट हुने तय भएको छ । तर, पुटिनले कस्ता माग राख्न सक्छन् भन्नेबारे आधिकारिक विवरण बाहिर आएको छैन ।
डोनबासअन्तर्गत युक्रेनका पूर्वी क्षेत्रहरू लुहान्स्क र डोनेत्स्क समावेश छन् । जसलाई सन् २०१४ देखि रुसले आंशिकरूपमा कब्जा गरेको छ ।
रुसले हाल लुहान्स्कको लगभग सबै र डोनेत्स्कको करिब ७० प्रतिशत भाग नियन्त्रणमा लिएको छ । तर, मंगलबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनले डोनबास छोड्ने जुनसुकै प्रस्तावलाई अस्वीकार गर्ने बताएका छन् ।


प्रतिक्रिया