राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)



काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा बैठक आज बिहान ११ः४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातै प्रदेश स्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभामा टेबुल गर्ने सम्भावना छ ।

आजै पाँच वटा संसदीय समितिको बैठक पनि बस्नेछ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण हुने र त्यसबारे छलफल गरिने कार्यक्रम छ ।

उद्योग, वाणिज्य तथा श्रम समिति बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ सम्बन्धी विषय विज्ञको प्रस्तुतिपछि छलफल हुनेछ ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको तयारीबारे समीक्षा गर्नेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमतासम्बन्धी उजुरीमाथि छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ दफावार छलफल गर्ने कार्यसूची तय गरेको छ ।