काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सांसदहरूलाई हस्ताक्षर गराएका छन् ।
सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।
बिहानैदेखि सांसदहरू कार्यालयमा आएर धमाधम हस्ताक्षर गर्दै फर्किरहेका छन् । हस्ताक्षर दिउँसो दुई बजेसम्म चल्ने बताइएकाे छ ।
रानाका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।
उपसभामुख राना अहिले अमेरिका भ्रमणमा रहेकी छन् । उनी अमेरिका भ्रमणमा रहेका बेला उनीविरुद्ध हस्ताक्षर अभियान जारी छ । उनी साउन ३० गते अमेरिका गएकी हुन् । उनी १३ गते फर्किने कार्यक्रम तय भएको उपसभामुखकाे सचिवालयले जनाएको छ ।
सत्तापक्षले उपसभामुख रानालाई हटाउन आवश्यक दुईतिहाइ मत जुटाउने प्रयास जारी रहेको छ ।
नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । कांग्रेस र एमालेलाई उपसभामुख हटाउने हो भने थप १६ जना सांसद आवश्यक पर्छ ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।


प्रतिक्रिया