विपिनलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

विपिनलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन



काठमाडौं । प्यालेस्टाइनी विद्राेही समूह हमासको अपहरणपछि हालसम्म सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै युवाहरूले काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

विपिनको रिहाइमा नेपाल सरकारले कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने, नागरिकलाई देशमै बस्ने वातावरण सुनिश्चित गर्नुपर्ने, विदेशिएको हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले कहाँ छन् विपिन जोशी ? अविलम्ब घर फर्काइयोस्, हामी युवाहरू कहिलेसम्म विदेशिनु पर्ने हो सरकार ?, युवा बेचेर देश कसरी बन्छ सरकार ? लगायतका प्ले कार्ड बोकेका थिए ।

जोशीको अवस्था हालसम्म अज्ञात छ । उनको रिहाइका लागि नेपालले कूटनीतिक पहल गरे पनि त्यसबाट नतिजा निस्केको छैन ।

हाल हमासले युद्धविराम सम्झाैताका लागि बन्धक रिहा गर्न सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । विपिनको खोजीका लागि अहिले उनकी आमा र बहिनी इजरायल पुगेका छन् ।

स्वतस्फूर्त रूपमा भेला भएका युवाहरूको समूहले विपिनको रिहाइका लागि भन्दै हस्ताक्षर समेत संकलन गरेका छन् ।