काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभई संघ नै रहेको बताएका छन् ।
महामन्त्री थापाले काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको बताए ।
‘कांग्रेस र एमाले मुख्य शक्ति हुन्, उनीहरूले संविधान संशोधन गर्ने भनिसकेका छन्, त्यसअनुसार अघि बढ्नैपर्छ,’ उनले भने, ‘उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एउटै बनाऔँ, आयोगहरू राष्ट्रिय मानव अधिकार अयोगअन्तर्गत नै लगेर राखौं । जिल्ला समन्वय समिति खारेज गर्न आवाज उठेको छ । संघीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, संघ हो। संघीयतामा हामी गइसक्यौं तर संघ नै संघीयतामा आउन सकेको छैन । सेन्टर नै संघीयतामा गएको छैन ।’
उनले संसद समावेशी बनाउने र पाँच वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्ने गरी छलफल अघि बढाउनुपर्ने बताए ।
न्यायपालिकाको बारेमा पनि छलफल गर्न जरूरी रहेको उनले बताए। अदालतमाथि यसअघि यति धेरै प्रश्न उठेको कुरा आफूले थाहा नपाएको उनको भनाइ छ ।


प्रतिक्रिया