लिपुलेक विवादबारे तत्काल कूटनीतिक पहल गर्न सरकारलाई रामहरि खतिवडाकाे आग्रह

लिपुलेक विवादबारे तत्काल कूटनीतिक पहल गर्न सरकारलाई रामहरि खतिवडाकाे आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबिच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रहसमेत गरे । उनले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए ।

सांसद खतिवडाले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न उनले आग्रह गरे ।

उनले भने, ‘संयोग छ सभामुख महोदय सम्माननीय प्रधानमन्त्री केही दिनपछि चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ । त्यो समयमा दुवै सरकारका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र यो समस्या समाधान होस् भनेर माग गर्न चाहन्छु । यस्तो बेलामा हामी सबै नेपालीहरू कुनै पार्टी र कुनै जातिको नभई सम्पूर्णको नेपालको तर्फबाट स्वाभिमान र राष्ट्रिय एकता पक्षको पक्षमा उभिनुपर्छ ।’