श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ



काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ परेका छन् ।

सरकारको कोषको दुरूपयोग गरेको आरोपमा क्रिमिनल इन्भेस्टिगेशन डिपार्टमेन्ट (सिआइडी)ले शुक्रबार उनलाई पक्राउ गरेको भारतीय मिडिया एनडिटिभीले जनाएको छ ।

उनी राष्ट्रपति हुँदा निजी भ्रमणका लागि राज्यको कोष दुरूपयोग गरेको आरोप छ ।

७६ वर्षीय उनी सन् २०२३ मा बेलायतको इंग्ल्यान्डमा गएका थिए । उनी उल्भरह्याम्प्टन युनिभर्सिटीमा आफ्नी श्रीमती प्रोफेसर मैथ्री विक्रमासिंघेको दीक्षान्तमा जाँदा सरकारी कोषको दूरूपयोग गरेको आरोप लागेको छ ।

‘कोलोम्बो फोर्ट म्याजिस्ट्रेट समक्ष आज हामी उनलाई उपस्थित गराउँदैछौं,’ एक अधिकारीले समाचार संस्था एएफपीसँग कुराकानी गर्दै भनेका छन् ।

पक्राउ गर्नुअघि प्रहरीले पूर्वराष्ट्रपति विक्रमासिंघेका कर्मचारीसँग भ्रमण खर्चबारे सोधपुछ गरेको थियो ।

विक्रमासिंघे सन् २०२२ जुलाइमा राष्ट्रपति बनेका थिए । गोटबाया राजापाक्षले सत्ता छाडेपछि उनी राष्ट्रपति बनेका हुन्। उनी गत सेप्टेम्बरमा चुनाव हारेका थिए ।