बागमती र कर्णालीमा दिउँसो भारी वर्षा हुने पूर्वानुमान

बागमती र कर्णालीमा दिउँसो भारी वर्षा हुने पूर्वानुमान



काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि देशमा प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका थोरै स्थानमा आज भारी वर्षाको पूर्वानुमान छ । तराईका कतिपय स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस दिन देशभर साधारणतया बदली (बादल/वर्षा)को पूर्वानुमान छ । बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा ‘मध्यम’ वर्षाको सम्भावना छ । बाँकी तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ, “मधेस प्रदेशलगायत कोसी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।”

यस दिन राति मधेस, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदलीको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीको पूर्वानुमान छ ।

कोसी, मधेस, बागमती, गण्डकीसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान छ । “गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।