गाजामा युद्धविराम र बन्दीहरूको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

गाजामा युद्धविराम र बन्दीहरूको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन



काठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौँ मानिस इजरायलका सडकमा उत्रिएका छन् ।

बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ ।

इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन अहिले युद्ध अन्त्य गर्न हमाससँग कुनै पनि सम्झौताको विरोधी रहेका अतिदक्षिणपन्थीको समर्थनमा टिकेको छ ।

यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमण र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्र महासचिवले गाजाको अवस्थालाई ‘मानवताको असफलता‘ भन्दै तत्काल युद्धविराम, सबै बन्दीहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् ।