तीन दिनको गिरावटपछि नेप्सेमा हरियाली

तीन दिनको गिरावटपछि नेप्सेमा हरियाली



काठमाण्डौ । लगातार तीन दिनसम्म ओरालो लागेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढ्दै लगानीकर्तालाई राहत दिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.३० अंकले बढेर २,७६१.२६ विन्दुमा पुगेको छ। उत्पादन र म्युचल फन्ड बाहेकका सबै उपसमूह हरियालीमा बन्द भएका छन्। अन्य समूह २.७९ प्रतिशत र माइक्रोफाइनान्स १.५० प्रतिशतले बढेका छन्।

आज नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो। तर, राष्ट्रिय वाणिज्य बैंकको म्युचल फन्ड–१ भने ३.८७ प्रतिशतले ओरालो लाग्दै सबैभन्दा धेरै घटेको कम्पनी बन्यो।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। आइतबार ६ अर्ब ५४ करोडको कारोबार भए पनि आज ३१७ कम्पनीका करिब १ करोड ८ लाख कित्ता शेयर मात्रै ५ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भए।