एसीटीविरुद्धको दोस्रो खेलमा नेपालको सहज जित

एसीटीविरुद्धको दोस्रो खेलमा नेपालको सहज जित



काठमाडौं । नेपालले अस्ट्रेलियाको स्थानीय टोली क्रिकेट एसीटीविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

मंगलबार बिहान सम्पन्न दोस्रो अभ्यास खेलमा एसीटीले दिएको ९७ रनको सामान्य लक्ष्य नेपालले १३.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा अविजित रहेका दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले क्रमशः ४२ र ११ रन बनाए ।

कप्तान रोहित पौडेलले नौ, भीम सार्कीले आठ र आसिफ सेखले चार रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको एसीटीले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रनको योगफल खडा गरेको थियो । एसीटीका एन ब्रोइसले १६ रन जोडे ।

एम म्याकनामारा र जेड केओघले समान १५ रन बनाए । एसीटीलाई सस्तैमा समेट्न नेपालका साहब आलम र दीपेन्द्रसिंह ऐरीले समान चार विकेट लिए ।

कप्तान रोहितकुमार पौडेलको नाममा एक विकेट रह्यो । यसअघि, नेपालले आजै भएको पहिलो खेलमा एसीटीविरुद्ध ४१ रनको जित निकालेको थियो ।