काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको भन्दै अब नफर्कने बताएकी छन् । भंगालमा भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झासँग भण्डारीले एमाले अध्यक्ष ओलीले अहिले आफैं बोलीबाट ब्याक भएर रोक्न खोजेको बताइन् ।
भण्डारीको भनाई उदृत गर्दै झाले भने, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ । एमालेबाटै अघि बढ्न चाहन्छु । अस्तिसम्म केपी ओलीले नै पूर्व राष्ट्रपति किन राजनीतिमा आउन पाउँदैन भनेर अन्तर्वार्ता दिनुभएको छ । अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ ।’
प्रधानमन्त्रीसमेत रहेका ओलीले केहि समयअघि अन्तर्वार्ता पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने बेकारको कुरा भन्दै आउन पाइने बताएका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकोमा आफू सन्तुष्ट नरहेको बताएकी थिइन् ।
सहकारी बचत रकम अपचलन मुद्दामा सुरूमा रूपन्देही कारागारमा राखिएका रविलाई हालै नख्खु कारागार ल्याइएको छ ।
‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ,’ पूर्वराष्ट्रपति भण्डारीले प्रवक्ता झासँगको कुराकानीमा भनिन् ।
साथै पूर्वराष्ट्रपति भण्डारीले सहकारीका बचतकर्ताहरूको बचत सरकारले फिर्ता गर्न सुरू नगरेको पनि बताइन् ।
‘सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइयो, बचतकर्ताहरूको बचत सरकारले फिर्ता गरेको छैन,’ उनले भनिन्, ‘चाडपर्वको मुख छ, बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने हो नि !’
उनले राजनीतिमा युवा पुस्ता नयाँ विचारसहित आएको भन्दै प्रशंसासमेत गरेकी थिइन् ।


प्रतिक्रिया