काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस नेतृ ईश्वरी न्यौपाने निर्विरोध भएकी छन् । यसको औपचारिक घोषणा भोलि बुधबार ३ बजेपछि मात्र हुनेछ । हिजो सोमबार कांग्रेस पदाधिकारी बैठकमा निर्णय हुन नसकेको विषय आज मंगलबार बिहान न्यौपानले पार्टी उपसभापति पूर्णबहादुर खड्कासँग भेट गरेपछि उक्त पद चर्चामै नरहेकी न्यौपानेको पोल्टामा परेको हो ।
समितिकै सदस्यमध्येबाट एकजनालाई सभापति बनाउने कांग्रेस पदाधिकारी बैठकमा मोटामोटी सहमति बनेको थियो । तर कसलाई सभापति बनाउने विषयमा पदाधिकारी बैठक टुंगोमा पुगेको थिएन ।
पार्टी सभापति शेरबहादुर देउवाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजिनामा दिएका रामहरि खतिवडालाई अन्याय भएको छ, उसलाई पनि समेट्नुपर्छ भनेका थिए । सभापति देउवाको आग्रहमा उपसभापति खड्काले संसदीय सुनवाइ समिति वा मुख्य सचेतकमध्ये एउटा जिम्मेवारी खतिवडालाई दिने सर्तमा न्यौपानेलाई राज्य व्यवस्था समितिमा ल्याइएको हो ।
कांग्रेस मुख्य सचेतक श्याम घिमिरेलाई मुख्य सचेतकबाट हटाएर संसदीय सुनवाई समितिको सभापति बनाउने अथवा खतिवडालाई नै उक्त जिम्मेवारी दिने विषयमा कांग्रेस पुगेको छैन । खतिवडाले सुनवाइ समितिको सभापति वा मुख्य सचेतकमध्ये एउटा पाउने लगभग पक्काजस्तै छ ।
राज्य व्यवस्था समितिमा दिलेन्द्र बडुको नाम पनि चर्चामा थियो । तर उनले लिन मानेनन् । शेखरको टिममा भए पनि बडुको पार्टी सभापति देउवासँग राम्रो सम्बन्ध छ । उमेर पनि ढल्केको र एकपटक मन्त्री हुने उनले इच्छा देखाएकाले सभापति देउवाले संसदको समिति सम्हाल्न बडुलाई जोड गरेनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले हावा खाएपछि राज्य व्यवस्था तथा सुशासन समिति कांग्रेसले नै नेतृत्व लिनुपर्ने अवस्था सिर्जना भएको हो । उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रधानमन्त्री ओलीको योजना सफल भएको भए कांग्रेसलाई एउटा मन्त्रालय थपेर राज्य व्यवस्था समिति एमालेले राख्ने तयारी थियो । प्रधानमन्त्री ओलीको उक्त योजनाले हावा खाएपछि कांग्रेसले आफ्नो भागमा परेको संसदीय समितिमा पदपूर्ति गर्न लागेको हो ।


प्रतिक्रिया