काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ ।
समितिका तत्कालीन सभाति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो ।
उक्त समयमा कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर न्यौपानेले मात्रै उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् ।
राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन् ।
न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् ।


प्रतिक्रिया