गाजा युद्ध अन्त्य र बन्धक मुक्तिका मागसहित इजरायलमा प्रदर्शन

गाजा युद्ध अन्त्य र बन्धक मुक्तिका मागसहित इजरायलमा प्रदर्शन



तेल अभिभ । इजरायलमा मंगलबार बिहानदेखि ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । उनीहरूले गाजामा जारी इजरायली सैन्य कारबाही रोक्न र हमासद्वारा बन्धक बनाइएका इजरायलीहरूलाई तत्काल फिर्ता गर्न माग गरेका छन् ।

यी प्रदर्शनहरू बन्धक र हराएका परिवार मञ्चले आयोजना गरेको हो । उक्त समूह लामो समयदेखि सरकारसँग बन्धकहरूको रिहाइलाई प्राथमिकता दिन र युद्ध अन्त्य गर्न दबाब दिँदै आएको छ ।

यसैबिच, इजरायलले गाजा पट्टीमा आफ्नो आक्रमण अझै तीव्र बनाएको छ । सोमबार मात्र दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा गरिएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

मृतकमध्ये पाँच जना अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।