काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गते चीन जाने तय भएको छ । उनी सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।
सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिनमा हुँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।
सांघाई सहयोग संगठन १५ जुन २००१ मा सांघाईमा काजाकिस्तान, चीन, किर्गिज, रुस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित एक स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो । अहिले सांघाई सहयोग संगठनमा भारत, इरान, काजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य छन् । संगठनमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक छन् ।
संगठनमा नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र ‘डायलग पार्टनर’ रहेका छन् ।
एससीओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमालेका सांसद छविलाल विश्वकर्मालगायत भ्रमण टोलीमा रहनेछन् ।


प्रतिक्रिया