आसाममाथि नेपाल ‘ए’ को ९६ रनकाे विशाल जित

आसाममाथि नेपाल ‘ए’ को ९६ रनकाे विशाल जित

युवराज खत्रीले लिए ४ विकेट



काठमाडौं । भारतका गुवाहिटीमा जारी टि- २० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई हराएको छ ।

नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेट क्षतिमा १७३ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो । जवाफी ब्याटिङमा आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयाे ।

आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए । सिबशंकर रोयले १६ रन बनाए ।

नेपालका लागि युवराज खत्रीले ३.२ ओभरमा १५ रन दिएर ४ विकेट लिए । बसिर अहमदले ३ विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे ।

आसामका आकाश सेनगुप्ताले ३, अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १-१ विकेट लिए ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो ।

नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्नेछ । यसपछिका ३ खेलहरू एसीए रंगशालामा डे/नाइट रूपमा फ्लडलाइटमा खेलिनेछ ।