सोबितालाई सुशिलाको चुनौती : संविधानको ज्ञान संसदमै जाँचौं, नापौं

सोबितालाई सुशिलाको चुनौती : संविधानको ज्ञान संसदमै जाँचौं, नापौं



काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई संविधानबारे प्रत्यक्ष बहस गर्न चुनौती दिएकी छन् ।

शुक्रवारको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले, केही दिन अघि चितवनमा तीज विशेष कार्यक्रममा सांसद गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस्तो चुनौती दिएकी हुन् । गौतमले सो अवसरमा संविधानबारे ज्ञान नभएकाहरू विधायिका भनेर घमण्ड गर्ने गर्छन् भन्ने टिप्पणी गरेकी थिइन् ।

थिङले भनिन्, “एकजना सम्मानित सांसद ज्यूले तिज विशेष कार्यक्रममा चितवनमा बोलेको भनाइप्रति खण्डन गर्न चाहन्छु । उहाँ कानुनको विद्यार्थी पनि हुनुहुन्छ । उहाँले संसद्का ठूला नेताहरू, सांसदहरू संविधान र कानुनको ज्ञान भएका व्यक्ति छैनन् । रवि लामिछानेलाई कानुनको दुरुपयोग गरेर थुनेर राख्नुभएको छ, सदनमा बसेका सांसदहरूको संविधानसम्बन्धी ज्ञान नभएका व्यक्तिहरू विधायिका हुँ भनेर बसिरहेका छन् भनेर अभिव्यक्ति दिनुभयो । म यसको घोर भर्त्सना गर्न चाहन्छु ।”

उनले थपिन्, “उहाँलाई संविधानको ज्ञान रहेछ । यस संविधानमा संसद बहिस्कार गरेर बाहिर जाने होइन । यँही बहस गरौं, छलफल गरौं । कसलाई संविधानसम्बन्धी कति ज्ञान रहेछ नापौं, जोखौं, छिनोफानो गरौँ । सदनबाहिर गएर फ्याउरो जसरी कराएर सदनमा सांसदहरूको अपमान हुनेगरी बोल्ने अधिकार उहाँ (सोबिता गौतम) लाई कसले दियो ? म उहाँलाई प्रश्न गर्न चाहन्छु ।”

सांसद थिङले संसदलाई छाडेर बाहिर गएर टिप्पणी गर्नुको सट्टा सदनभित्रै छलफल र बहस गरेर निर्णय लिनुपर्ने धारणा व्यक्त गरिन्। साथै, बैठक बहिस्कार गर्दै भत्ता लिनेहरूले अरूलाई नैतिकताको पाठ दिनु उपयुक्त नहुने तर्क पनि प्रस्तुत गरिन् ।