नेपालमा फोहोरमैला व्यवस्थापनका लागि ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक

नेपालमा फोहोरमैला व्यवस्थापनका लागि ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक



ललितपुर । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन ‘नेपाल टेक मार्केट’ ले एक नयाँ ‘सफ्टवेयर’ प्रणाली सार्वजनिक गरेको छ । यो प्रणाली सोलिड वेष्ट एसोसिएसन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा विकास गरिएको हो ।

नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले यो पहल प्रविधि मात्र नभई सामाजिक जिम्मेवारीसँग जोडिएको बताएका छन् । उनले फोहोरलाई समस्या मात्र नभई यसलाई पुनःप्रयोग र पुनःचक्रण गरेर दिगो समाधान सिर्जना गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए ।

अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इन्जिनियर मङ्गल कृष्ण प्रधानका अनुसार, यो प्रणाली प्रयोगकर्ता-मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी प्रचलनहरू समावेश गरिएको छ । उनले यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो भएको बताए । यसले फोहोर सङ्कलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

यो फोहोर व्यवस्थापन सफ्टवेयरका सम्भावित प्रयोगकर्ताहरूमा फोहोरमैला व्यवस्थापन कम्पनी, घरपरिवार, अस्पताल, होटल, व्यवसायी, विद्यालय, र सरकारी संस्थाहरू पर्छन् ।