काठमाडौँ । लगातार दुई दिन ओरालो लागेको शेयर बजार सोमबार उकालो लागेको छ। नेप्से परिसूचक १२.०३ अंकले बढ्दै २,७६१.८६ विन्दुमा पुगेको छ।
समूहगत हिसाबले हेर्दा ‘अन्य’ र ‘व्यापार’ बाहेकका सबै सूचक बढेका छन्। विशेषगरी बैंकिङ समूह १.५ प्रतिशतले उक्लिएको छ। आजको कारोबारमा १४३ कम्पनीको मूल्य बढ्दा १०६ कम्पनी घटेका छन् भने २ कम्पनी यथावत् रहे।
हिम स्टार एनर्जीको मूल्य ६ प्रतिशतले चढेको छ भने उन्नति सहकार्य लघुवित्त ७.६८ प्रतिशतले घटेको छ।
बजार उकालो लागे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३२६ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ५ अर्ब १० करोड रुपैयाँमा किनबेच भएका छन्।


प्रतिक्रिया