मन्त्रीले खोसे सचिव चढ्ने गाडीको चाबी

मन्त्रीले खोसे सचिव चढ्ने गाडीको चाबी


ग्लोब नेपाल
270
Shares

काठमाडौं । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको चाबी खोसेका छन् ।

आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेका हुन् । सचिव पाण्डेले आफ्नो गाडीको चाबी खोसिएको बताएका छन् । मुख्यमन्त्रीसँग छलफलका लागि पुगेको र छलफल सकेर निस्कन खोज्दा गाडी नदेखेपछि सवारी चालकलाई आफूले फोन गरेर सोध्न खोज्दा चालकको समेत फोन ‘अफ’ रहेको सचिव पाण्डेले जानकारी दिए । पछि बुझ्दा मन्त्रीको दबाबमा चाबी खोसिएको थाहा भएको उनले जनाए ।

त्यहाँबाट आफूले मोटरसाइकल बोलाएर मन्त्रालयमा आएको उनले जानकारी दिएका छन् । मन्त्री हाङ्गाम र सचिव पाण्डेबीच लामो समयदेखि द्वन्द्व चलिरहेको मन्त्रालय स्रोत बताउँछ । मन्त्रीले करारका ड्राइभर हटाउने र आफ्ना मान्छे नियुक्त गर्ने प्रयास गरेका थिए, जसलाई सचिवले अस्वीकार गरेको जनाइएको छ ।

यस्तै झापामा कर्मचारीबारेको विवादमा पनि मन्त्री र सचिवबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा सचिव पाण्डेको केही समय अगाडि सरुवा भएको थियो । यद्यपि सचिव पाण्डेको सरुवा थमौती भएको छ ।