उम्मेदवार लेखजंग थापाकाे विषयमा पुनर्विचार हुदैन : रास्वपा

उम्मेदवार लेखजंग थापाकाे विषयमा पुनर्विचार हुदैन : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा उम्मेदवार चयन गरेकाे डा. लेखजंग थापाकाे विषयमा पुनर्विचार नगर्ने स्पष्ट पारेकाे छ ।

कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि विवादमा तानिए पनि पार्टीले पुनर्विचार नगर्ने बताएकाे हाे ।

थापाकाे सम्पूर्ण विवरण हेरेर नै पार्टीले उम्मेदवार छनोट गरेकाले पुनर्विचार नहुने प्रवक्ता मनिष झाले बताएका छन् ।

उनले भने, ‘पार्टीले सम्पूर्ण विवरण हेरेर नै लेखजंग थापालाई छनोट गरेका हाे । बाहिर आएको जस्तो त्रुटि भएको देखिँदैन । सबै विधि र प्रक्रिया पुर्‍याएर छनोट भएकाले उम्मेदवारको सम्बन्धमा पुनर्विचार हुँदैन ।’

यस्तै थापाविरुद्ध पार्टीको कुनै पनि निकायमा उजुरी नपरेको दाबी गर्दै झाले संवैधानिक तथा कानुनी समस्या नआउनेमा पार्टी स्पष्ट रहेको बताए ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ ।