काठमाडौं । अफगानिस्तानका राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन् ।
त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत गएराति शारजाहमा घरेलु टोली यूएईसँगको खेलमा ३ विकेट लिएका २६ वर्षीय लेगस्पिनर राशिदले यो उपलब्धि हासिल गरेका हुन् ।
राशिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट सङ्ख्या १ सय ६५ पुर्याएका छन् । न्युजिल्यान्डका टिम साउथी १ सय ६४ विकेटसहित दोस्रो स्थानमा छन् ।
न्युजिल्यान्डकै इश सोधी १ सय ५० विकेटसहित तेस्रो, बङ्गलादेशका शाकिब अल हसन १ सय ४९ विकेटसहित चौथो र बङ्गलादेशकै मुस्ताफिजुर रहमान १ सय ४२ विकेटसहित पाँचौं स्थानमा छन् ।
राशिदले ४ ओभरमा ११ रन दिएर ३ विकेट लिएको खेलमा अफगानिस्ताने यूएईलाई ३८ रनले हरायो । त्रिदेशीय टी–२० शृङ्खलामा अफगानिस्तानको यो पहिलो जीत हो । त्रिदेशीय शृङ्खलामा यूएई, अफगानिस्तान र पाकिस्तान छन् ।


प्रतिक्रिया