रेल चढेर बेइजिङ आइपुगे किम जोङ उन

रेल चढेर बेइजिङ आइपुगे किम जोङ उन



बेइजिङ । आणविक शक्ति सम्पन्न तथा अमेरिका नेतृत्वका पश्चिमा देशहरूको कठोर नाकाबन्दीमा परेको उत्तर कोरियाली सत्ताका नेता किम जोङ उन मंगलबार चीनतर्फ सवार भएका छन् । उनी हालसालै बेइजिङ ओर्लिएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

बुधबार आयोजना हुने दोस्रो विश्वयुद्धमा जापानलाई हराएको ८०औँ वर्षगाँठको अवसरमा आयोजना हुने भव्य सैन्य परेडमा सहभागी हुन किम बेइजिङ पुगेका हुन् । सीधा हवाई सेवा संचालन हुने छिमेकी देश चीनमा आउन किमले हवाई सेवाचाहिँ प्रयोग गरेनन् । उनी रेलमा आए । आजको चीन भ्रमण किमको चौँथो भ्रमण हो ।

सबै भ्रमण रेलबाटै भएको थियो । यसअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सन् २०१९ को भेटमा पनि किमले रेल प्रयोग गरेका थिए । सन् २०१८ को सिंगापुरमा भएको ट्रम्पसँगको भेटमा भने किमले हवाई जहाज यात्रा गरेका थिए ।

उनले चीनको एअर चाइनाले चलाउने चीनका उच्च नेताहरू यात्रा गर्ने बोइङ ७४७ बाट उनले टापुको देश सिंगापुरको यात्रा गरेका थिए । उनी रेलमा आउनुमा सुरक्षाको कारण मानिन्छ । कतिपयले किमलाई हवाई यात्रामा सकस हुने भन्दै यस्तो यात्रा प्रयोग गरिएको बताउँछन् ।

उसो त किमका पिता किम जोङ इल र उनका हजुरबुबा किम इल सङले पनि अन्तर्राष्ट्रिय यात्रा गर्न रेल नै प्रयोग गरेको उदाहरण छ ।