काठमाडौं । कुलिङ पिरियडसहित संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउँसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिइन् ।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् ।
मन्त्रीले प्रस्ताव पेश गरेलगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए । उनीहरूले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन । लगत्तै मन्त्री न्यौपानेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सर्वसम्मतबाट पारित भएको छ ।
अब यो विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरी प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाउने छ ।
राष्ट्रियसभाबाट निजामति विधेयकमा कुलिङ अफ पिरियडसहित पास भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति रामहरि खतिवडाले प्रशन्नता व्यक्त गरेका छन् । उनले भने, ‘कुलिङ अफ पिरियड राष्ट्रियसभाबाट पास भएको छ । म सबैलाई धन्यवाद दिन्छु । यसले आजबाट विधेयकको स्वरुप लिएको महसुस भएको छ ।’
‘विधेयकमा कुलिङ पिरियड आउँछ कि आउँदैन भन्ने संसय थियो, त्यो अन्त्य भएको छ । राष्ट्रियसभाबाट प्रतिनिधिसभा आएपछि हामी यसलाई छिट्टै पास गर्नेछौं’ उनले भने, यो विधेयकलाई लिएर समितिमा छलफल भयो, साथीहरुबीच रस्साकस्सी भयो । कुलिङ पिरियड राख्नुपर्छ भन्ने विषयमा सबै एक मत थियौं । समितिमा कुनै विवाद थिएन, सरकारले पनि साथ दिएको थियो । सबै मिलेर हामीले यसलाई पारित गरेका थियौं ।’
यो विधेयक २०७४ सालमा संविधान जारी भएदेखि यता अर्को चर्चाको विधेयक बन्यो । यसले राष्ट्रिय रुपमै चर्चा पायो । अघिल्लो संसदबाट फिर्ता आएको विधेयक थियो । यो २०८० बैशाख २१ गते दफावार छलफलका लागि समितिमा दर्ता भयो । समितिमा दफावर छलफल २०८१ जेठ १५ बाट सुरु भयो । केही दफामा छलफलपछि उपसमितिमा लगेर टुंग्याउनुपर्छ भन्ने निष्कर्ष निकाल्यो । कांग्रेस सांसद दिलेन्द्र बडुको संयोजकत्वमा निर्माण भएको उपसमितिले तयार पारेको प्रतिवेदन २०८१ चैत १४ गते पेस ग-यो । उक्त प्रतिवेदन चैत २० गते सबै सांसदलाई वितरण गरिएको थियो ।
२०८२ जेठ २ गते निजामति विधेयक समितिबाट पास भएको थियो । प्रतिनिधिसभाले असार १५ गते सर्वसम्मत यो विधेयक पास गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएपछि केही त्रुटी फेला प-यो । समितिले नै राष्ट्रिय सभा अध्यक्षलाई त्रुटी सच्चाउन अनुरोध गरेको थियो । उक्त त्रुटी सच्चाएर राष्ट्रियसभाले ६० दिनमा कुलिङ पिरियसहित आज सर्वसम्मतले उक्त विधेयक पास गरेको हो ।


प्रतिक्रिया