बेइजिङ । चीनले आज राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड आयोजना गरेको छ । परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायतलाई स्वागत गरेका छन् ।
पुटिन चीनमै छन् भने उत्तर कोरियाका नेता उन पनि हिजो रेलबाट चीन आइपुगेका थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । परेडमा चीनले आफ्नो सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गरेको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अहिले भव्य परेड चलिरहेको छ । चीनले यसअघि, १० वर्ष पहिला सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरेको थियो । यो परेडमा चीनको सैन्य शक्तिसहित उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल र फाइटर जेटहरूलगायत प्रदर्शनमा राखिएको छ ।
‘विजय दिवस’ परेडमा ४५ सैनिक टुकडी सहभागी छन् र यो झन्डै ७० मिनेटसम्म चल्नेछ । चीनका सहायक विदेश मन्त्री हङ लेईले यसअघि आयोजित पत्रकार सम्मेलनमा यो सैन्य परेडमा २६ विदेशी नेताहरूको सहभागिता रहने जानकारी दिएका थिए ।


प्रतिक्रिया