एमाले सचिवालय बैठक बस्दै, पाण्डे र ज्ञवालीको फरक मतबारे पनि छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, पाण्डे र ज्ञवालीको फरक मतबारे पनि छलफल हुने



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बस्न लागेकाे उनले बताए । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल हुनेछ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, विधान संशोधन र केन्द्रीय आयोग (निर्वाचन, लेखा, आर्थिक लगायत) हरूका प्रतिवेदनमाथि छलफल हुने र पारित गर्ने कार्यसूची छ ।

यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर यी प्रतिवेदन पारित गर्ने तयारी भए पनि समय अभावलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो ।

यसैबीच आज बस्ने सचिवालय बैठकमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतबारे पनि छलफल हुनेछ । तीनै जना नेताले विद्या भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरू नोट अफ डिसेन्ट (फरक मत) राखेका थिए ।